बैतडी – फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि बैतडीमा सुरक्षाकर्मीहरुले संयुक्त मोटरसाइकल गस्ती गरिहेका छन् ।
निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सुरक्षाकर्मीहरुले संयुक्त रुपमा मोटरसाइकल गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
चुनावी सुरक्षा योजना अनुसार जिल्लाका शहरी क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त मोटरसाइकल गस्ती सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका,सुर्नया गाउँपालिकाका बजार क्षेत्रमा सुरक्षाकर्मीहरुको संयुक्त गस्ती सञ्चालनमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए । जिल्लाका सबै जसो बजार क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन हुने उनले बताए ।
निर्वाचनको मिति नजिक आएका बेला स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन नेपाली सेनाले जिल्लाका १० ओटै तहमा बेस क्याम्प खडा गरेको श्रीबक्स गुल्मका गुल्मपति, सेनानी पुष्प लामाले बताए । बेस क्याम्पमा रहेको नेपाली सेनाले आवश्यकता अनुसार गस्ती गर्नुका साथै अन्य सुरक्षा फौँजसँगको समन्वयमा संयुक्त गस्ती गरिरहेको बताइएको छ ।
जिल्लामा निर्वाचनका लागि २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । आवश्यकता अनुसार सुरक्षाकर्मी थप परिचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
जिल्लामा चुनावको समयमा हुन सक्ने विभिन्न अवाञ्च्छित क्रियाकलापहरुलाई रोक्नका लागि जिल्ला सुरक्षा समितिले योजना अनुसार काम गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
गएको बुधबार डिलाशैनीमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएपछि जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । अब त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायले चनाखो भएर काम गरिरहेको थापाले बताए ।
प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।



