बैतडी–यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा कर्मचारीहरु मतपत्र र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएका छन् ।
मतपत्र र निर्वाचन सामग्री बुझेर कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिएका जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचनका बिषयमा अभिमुखीकरण तालिम दिइएको थियो ।
जिल्लामा एक अस्थायीसहित २ सय १५ ओटा मतदान केन्द्र रहेका छन् । ती सबै केन्द्रका लागि मतपत्र र निर्वाचन सामग्रीसहित कर्मचारी खटिसकिएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।
आजदेखि मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले मतदानका लागि आवश्यक तयारी गर्ने बताइएको छ । जिल्लामा निर्वाचनका लागि १ हजार २८८ जना कर्मचारी खटिएका सूचना अधिकारी दयालले बताए ।
प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । यहाँ एक स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा छन् ।
स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले भने आफू चुनावी होडबाट बाहिरिएको बताएका छन् । अहिले १० ओटा राजनैतिक दलका १० जना उम्मेदवार चुनावी मैदानमा रहेका बताइएको छ ।




