बैतडी –बैतडीमा निर्वाचन आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री सुरक्षाकर्मीले हटाएका छन् ।
विभिन्न राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलमा राखेका झण्डा, तुल, ब्यानर लगायतका निर्वाचन सामग्री सुरक्षाकर्मीले हटाएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।
निर्वाचन आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री हटाउन दल र उम्मेदवारलाई आग्रह गरेको भएपनि उनीहरुले नहटाएपछि सुरक्षाकर्मीहरुले हटाएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन तथा व्यवस्थापन समितिको बैठकमा निर्वाचन आचारसंहिता विपरीत विभिन्न ठाउँमा राखिएका प्रचार सामग्री हटाउन आग्रह गरिएको थियो ।
जिल्ला सदरमुकामका साथै देहीमाण्डौं,सतबाँझ, पाटन लगायतका क्षेत्रमा निर्वाचन आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका अन्य ठाउँमा निर्वाचन आचारसंहिता विपरीत सामग्री राखेका पाइए सुरक्षाकर्मीहरुले हटाउने प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
निर्वाचन सुरक्षाका लागि जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।




