Sagun Khabar
प्रतिनिधि सभा निर्वाचन : सीमा नाका बन्द 

बैतडी – बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षालाई ध्यानमा राखेर हिजो मध्यरातिदेखि सीमा नाका बन्द गरिएका छन् । 

भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका र महाकाली नदीमा सञ्चालित घाटहरु हिजो राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्मका लागि बन्द रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सीमा क्षेत्रमा चुनावको समयमा हुन सक्ने अवाञ्च्छित गतिविधि रोक्नका लागि सुरक्षा निकाय चनाखो रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

बैतडीमा ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । झुलाघाट नाकामा झोलुङ्गे पुलमार्फत आवतजावत गरिन्छ भने तल्लासोराड क्षेत्रका घाटहरुमा डुङ्गमार्फत आवतजावत गरिन्छ । 

यस्तै निर्वाचन सुरक्षालाई ध्यानमा राखेर दार्चुलाका भारतसँग जोडिएका सीमा नाका पनि हिजो रातिदेखि बन्द गरिएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुलघाटसहित अन्य नाकाहरु फागुन २१ गते राति १२ बजेसम्मका लागि बन्द गरिएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update