बैतडी–बैतडीमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । अघि बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा मतदान कार्य शुरु भइसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
जिल्लाका एक अस्थायीसहित २ सय १५ मतदान केन्द्रमा मतदान कार्य शुरु भइसकेको र शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १० जना चुनावी मैदानमा रहेका छन् । यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।
मतदान कार्यलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि जिल्लाभरी उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । सुरक्षाको भरपर्दो व्यवस्थापन गरिएकाले आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
सबै मतदान केन्द्रहरुमा मतदाताहरुको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए । अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, महिला लगायतलाई मतदानमा सहज होस भनेर सोही किसिमले व्यवस्थापन गरिएको उनले बताए ।
साँझ ५ बजेसम्म मतदान कार्य सञ्चालन हुने भएकाले आफ्नो मतदान केन्द्रमा गएर मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।




