कैलाली –सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले अमेरिकाबाटै सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै आफू अझै केही समय प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित देउवा नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा हुन् । उनी भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका छन् । देउवा जेनजी आन्दोलनपछि अमेरिका गएका थिए ।
पत्रमा उनले २०८२ भदौ २८ गते व्यक्तिगत कामका लागि अमेरिका गएको र त्यसपछि देखिएको स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा बस्नुपरेको उल्लेख गरेका छन् । यही कारणले सो अवधिमा बसेका प्रदेशसभा बैठकहरूमा सहभागी हुन नसकेको र आगामी २०८२ चैत्र २४ गते बस्ने बैठकमा पनि उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।
संविधानअनुसार सभामुखलाई जानकारी नगराई लगातार १० बैठकमा अनुपस्थित रहे पद गुम्न सक्ने व्यवस्था छ । यद्यपि, देउवाले केही बैठकमा अनुपस्थित भएपछि सभामुखलाई पत्रमार्फत जानकारी गराएका हुन् ।
प्रदेशसभा सचिवालयले उनी सम्पर्कमा नरहेको भन्दै सेवा–सुविधा समेत रोकेको छ । प्रदेश सभा सचिवालयले सभामुखलाई सम्बोधन गरिएको पत्र प्राप्त भएको पुष्टि गरेको छ ।





