कैलाली –प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचनामाथि कडाइका साथ कारवाही गरिरहेका बेला उनकै पार्टीका सांसद केपी खनालको घरसमेत ऐलानी जग्गामा बनेको र त्यसको लालपूर्जा र नक्सापास नभएको तथ्य बाहिर आएको छ ।
कैलालीको लम्की चुहा नगरपालिका–१, बसपार्क नजिक निर्माणाधीन उक्त घर सार्वजनिक ऐलानी जग्गामा रहेको पाइएको हो । नक्सापास र लालपूर्जा नभएका संरचनामाथि सरकारले डोजर चलाइरहेका बेला प्रधानमन्त्री निकट मानिने सांसद खनालकै घर पनि मापदण्ड विपरीत बनेको खुलेपछि राजनीतिक वृत्तमा चासो बढेको छ ।
सांसद खनालका बुबाआमा लामो समयदेखि भारतमा मजदुरी गर्दै आएका छन् र हाल पनि उनीहरू भारतमै छन् । भारतमा कमाएको पैसाले लम्कीमा घर बनाइएको खनालका स्वकीय सचिव हर्क पुनले बताए । तर उनले घरको लालपूर्जा नरहेको स्वीकार गरे । उनका अनुसार घर ऐलानी जग्गामा भए पनि अतिक्रमण गरेर बनाइएको भने होइन, बुबाआमाले आफ्नै लगानीमा निर्माण गरेको हो ।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद खनालले निर्वाचनका बेला आफूलाई सुकुम्बासी तथा ऐलानी जग्गामा बसोबास गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आएका थिए । लालपूर्जा नभएका अभिभावकको छोरो उम्मेदवार बनेको भन्दै उनले मतदातासँग सहानुभूति र समर्थन मागेका थिए ।
भूमिहीनको मुद्दा उठाउँदै निर्वाचित भएका खनाल अहिले स्वयं नक्सापास नगरी ऐलानी जग्गामा घर बनाएको तथ्य सार्वजनिक भएपछि आलोचनामा परेका छन् । उनको सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
लम्की चुहा नगरपालिकाकी प्रमुख शुशिला शाहीले सांसद खनालको घर अव्यवस्थित बसोबास क्षेत्रमा रहेको र हालसम्म लालपूर्जा जारी नभएको जानकारी दिइन् । भूमि आयोगबाट नामपासलगायत प्रक्रिया पूरा भए पनि पुर्जा वितरण हुन बाँकी रहेको र ऐलानी जग्गामा बनेको घरको नक्सापास सम्भव नहुने उनको भनाइ छ ।
लम्की क्षेत्रमा मात्रै सांसद खनाल मात्रै नभएर हजारौँ परिवार ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका छन् । भूमि समस्या समाधान आयोगका अनुसार लम्कीचुहामा १६ हजार ५ सय अव्यवस्थित परिवार छन् भने १ हजार २ सय २६ भूमिहीन दलित र १ हजार ९ सय १८ भूमिहीन सुकुम्बासी रहेका छन् ।
जिल्लाभर झन्डै १ लाख ४० हजारभन्दा बढी परिवारले भूमिको माग गर्दै निवेदन दिएका छन् ।





