कैलाली – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट खैरो हेरोइनसहित १२ जना पक्राउ परेका छन् । कैलालीबाट ९ र कञ्चनपुरबाट ३ जना गरेर १२ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीमा लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टिकापुर नगरपालिका–९ खक्रौलाबाट १९ ग्राम १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–४ निवासी ३० वर्षीय तेज बहादुर बिटालु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ निवासी १९ वर्षीय सोहन नेपाली रहेका छन् ।
यस्तै, गोदावरी नगरपालिका–२ महेन्द्रनगररोडस्थित एक होटलबाट १२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ घर भई हाल गोदावरी–२ बस्दै आएका ३६ वर्षीय तिलक वली, धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया संगिता राना, कैलारी गाउँपालिका–८ की १९ वर्षीया नबिना चौधरी र बझाङको जयपृथ्वी नगरपालिका–७ की १९ वर्षीया अस्मिता खत्री रहेका छन् ।
त्यसैगरी, टिकापुर–९ खक्रौलाबाट शुक्रबार राति ३ ग्राम ६६० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ निवासी २१ वर्षीय दिच्छु चौधरी, १९ वर्षीय राजेश सोप बराल र एक १८ वर्षीय किशोर रहेका छन् ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौला बजार नजिकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–५ गुलरिया निवासी ३१ वर्षीय पारस जोशी, कृष्णपुर नगरपालिका–६ मौरिफाटा निवासी २३ वर्षीय भरत रोकाया तथा कृष्णपुर नगरपालिका–७ कलुवापुरका एक १८ वर्षीय किशोर रहेका छन् ।





