कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ बाट प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।
प्रदेश नीति तथा योजना आयोगले बुधबार आयोजना गरेको एक कार्यक्रममा आगामी आर्थिक बर्षदेखि नै आयोजना बैङ्क कार्यान्वयनमा ल्याउने तयारीअनुसार काम भइरहेको जानकारी दिइएको हो । आयोजनामा दोहोरोपना हुन नदिन र कागजविहीन बनाउन, अनलाइन प्रविष्ट गर्न र ‘क्लाउड’ मा आधारित भण्डारण सुविधाका लागि उक्त प्रणालीको विकास गरिएको आयोगका सदस्य नृपबहादुर सुनारले जानकारी दिए ।
साथै आयोजना बैङ्क सञ्चालनपश्चात् आयोजनाको विवरण सुरक्षित हुने, समयको बचतका साथै एउटै विवरण बारम्बार प्रविष्ट गरिराख्नुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए । सङ्घ, सात वटै प्रदेश र सात सय ५३ वटै स्थानीय तहमा एकै किसिमको प्रणाली हुने हुँदा प्रणालीगत एकता कायम ‘सफ्टवेयर’ प्रयोगमा ल्याउन लागिएको हो ।
प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनका लागि प्रदेश नीति तथा योजना आयोगले एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरी मन्त्रालय, विभाग, योजना शाखामा कार्यरत कर्मचारीलाई प्रशिक्षणसमेत दिएको छ । योजना बैङ्कमा प्रदेशका ठूला आयोजना राख्ने र आगामी आर्थिक वर्षको बजेटमा सोही आयोजनालाई समेटेर बजेट विनियोजन गरिने बताइएको छ ।
गत वैशाख २९ गते मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेश आयोजना छनोटसम्बन्धी मापदण्ड, २०८३ स्वीकृत गरेको थियो ।





