Sagun Khabar
मन्त्री फेर्ने एमालेको तयारीले खैलाबैला, संसदीय दलका नेता रावलको विकल्प खोजिँदै 

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री फेरबदल गर्ने विषयलाई लिएर सत्ता साझेदार नेकपा एमालेभित्र तीव्र असन्तुष्टि र खैलाबैला सुरु भएको छ। पार्टी केन्द्रको निर्देशनमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेपछि आन्तरिक विवाद चुलिएको हो।

एमालेले हाल सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरासिंह सार्की, कृषि मन्त्री वीरबहादुर थापा र राज्यमन्त्री निर्मला साउँदलाई फिर्ता बोलाउने निर्णय गरेको छ। उनीहरूको स्थानमा सन्तोषकुमारी थापा, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउन मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष नामसमेत सिफारिस भइसकेको छ।
 
संसदीय दल र प्रदेश कमिटीमा कुनै छलफल नै नगरी, बजेट ल्याउने मुख्य समयमा केन्द्रले एकलौटी ढंगले मन्त्री फेर्न लागेको भन्दै बहालवाला मन्त्री र सांसदहरू रुष्ट बनेका छन्। दलका नेता रावलले केन्द्रको निर्णय गोप्य राखेर एकलौटी कार्यशैली अपनाएको भन्दै एमालेका केही सांसदहरूले उनको विकल्प (नेताबाट हटाउने) समेत खोज्न थालेका छन्। 

११ सदस्यीय एमाले संसदीय दलमा नेता फेर्न ६ जना सांसद आवश्यक पर्छ। यद्यपि, मन्त्री बन्न लागेका र फिर्ता हुन लागेका सांसदहरूको समीकरणका कारण रावललाई हटाउनु त्यति सहज भने देखिँदैन।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update