कैलाली –धनगढी उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८३ मा ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रममार्फत छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई मंगलबार सिफारिस पत्र वितरण गरिएको हो ।
धनगढी उपमहानगरपालिकाको सभा हलमा आयोजित छात्रवृत्ति वितरण, शुभकामना तथा बधाई कार्यक्रममा छात्रवृत्तिका लागि छनोट भएका सम्पूर्ण विद्यार्थीलाई बोलाएर सिफारिस पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षाको अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।
उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा कुल ९१७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ। तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ मा २७६, आर्थिक वर्ष २०८२ मा २८३ र आर्थिक वर्ष २०८३ मा ३५८ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। अघिल्ला वर्षको तुलनामा यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
तीन वर्षको अवधिमा विज्ञान संकायतर्फ सबैभन्दा बढी ४७५ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। त्यस्तै व्यवस्थापन संकायतर्फ ३४३, होटल म्यानेजमेन्टतर्फ ५२, कानूनतर्फ २७, शिक्षातर्फ ९ तथा मानविकी संकायतर्फ ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
चालु आर्थिक वर्ष २०८३ मा मात्रै विज्ञानतर्फ १७३, व्यवस्थापनतर्फ १३९, होटल म्यानेजमेन्टतर्फ २६, मानविकीतर्फ २, शिक्षातर्फ १ र कानूनतर्फ १ जना गरी कुल ३५८ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्। धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमा उपलब्ध छात्रवृत्ति कोटामा विगतमा प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत विद्यार्थी छनोट गर्दै आएको भए पनि यस वर्ष भने एसईईको नतिजाका आधारमा छात्रवृत्ति प्रदान गरिएको जनाएको छ ।





