कैलाली –सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएको जानकारी दिए । उनका अनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई महाप्रबन्धक नियुक्त गरिएको हो ।
यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले महाप्रबन्धक पदका लागि आवेदन दिएका उम्मेदवारमध्येबाट १० जनाको नामावली सार्वजनिक गरेको थियो । सोही सूचीबाट छनोट गर्दै मन्त्रिपरिषद्ले रावललाई जिम्मेवारी दिएको हो ।
नवनियुक्त महाप्रबन्धक रावलले लामो समय एभिन्युज टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा काम गरेका थिए । त्यसपछि उनी न्युज २४ टेलिभिजनमा पनि सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा कार्यरत रहेका थिए ।
केही समय ग्यालेक्सी टेलिभिजनमा काम गरेका रावल पछिल्लो समयमा बीबीसी नेपालीसँग आबद्ध थिए ।





