कैलाली –कैलालीको चिसापानीमा ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारमा शुक्रबार राति साढे ९ बजेतिर रुवी होटल अगाडि पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।
उनलाई तत्काल इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख, प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा १० जनाको प्रहरी टोलीले उनको उद्धार गरेर टीकापुर अस्पताल लगेको थियो ।
टाउकोमा गम्भीर चोट लागेका घाइते पुरुषको उपचारका क्रममा राति अस्पतालमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। शवलाई अहिले टीकापुर अस्पतालको शवगृहमा राखिएको छ ।
दुर्घटनापछि फरार चालक र गाडी सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई राति १२ बजे भे १ क २५९६ नम्बरको मिनी ट्रकसहित नियन्त्रणमा लिइएको थियो ।
सुर्खेतकै पञ्चपुरी नगरपालिका–११ ढुङ्गीबजारबाट पञ्चपुरी– ४ चनालीका चालक ३१ वर्षीय सन्तोष सिजापति मगरलाई नियन्त्रणमा लिइएको हो । मिनी ट्रकलाई पञ्तपुरीकै तातोपानी प्रहरी पोष्टको नियन्त्रणमा राखिएको छ भने चालकलाई राति नै इलाका प्रहरी कार्यालय चिसापानी ल्याइएको छ ।





