Sagun Khabar
पाटन –८ को सार्वजनिक सुनुवाई सम्पन्न : कर्मचारी, स्वयंसेविका र विद्यार्थीलाई सम्मान 

बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं ८ को कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक बर्षमा वडाभरी सञ्चालन भएका योजना, सम्पादन भएका कामहरुको बारेमा जानकारी दिनका लागि सार्वजनिक सुनुवाई आयोजना गरिएको वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा वडामार्फत सञ्चालित योजना, वडामा नगरपालिकामार्फत सञ्चालित योजना र अन्य कार्यालयहरुमार्फत सञ्चालित योजनाहरुको विस्तृत जानकारी दिइएको वडा अध्यक्ष बिष्टले बताए । वडामा सञ्चालन भएका योजनाहरुको पारदर्शीताका लागि हरेक बर्ष सार्वजनिक सुनुवाईमार्फत सबैलाई जानकारी दिने गरिएको उनले बताए । 

वडाले चालु आर्थिक बर्षमा ३ लाख ३५ हजार १ सय ४१ रुपैयाँ राजस्व संकलन गरेको वडा अध्यक्ष बिष्टले बताए । विभिन्न शीर्षकमा वडाले उक्त राजस्व संकलन गरेको हो । 

यस्तै वडा सचिव शरदप्रसाद भट्टसहित महिला स्वास्थ्य स्वयंसेविका र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । सचिव भट्टले बिदाका दिनमा समेत सेवाग्राहीलाई सेवा दिएकाले उनको कामको मूल्यांकन गर्दै प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको वडा अध्यक्ष बिष्टले बताए । 

यस्तै वडाभरीका सात जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही तीन हजार नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पुर्याउन गरेको प्रयासको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । 

यस्तै कक्षा ५ को वडास्तरीय बार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको वडा अध्यक्ष बिष्टले बताए ।  
 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update