Sagun Khabar
बैतडी सदरमुकामको साँघुरो सडकमा सवारी चाप, पैदलयात्री र यात्रु असुरक्षित

गोविन्द पन्त बैतडी - बैतडी जिल्ला सदरमुकाम गोठलापानी क्षेत्रमा मुख्य सडक किनारमै अनियन्त्रित रूपमा सवारीसाधन पार्किङ गरिने प्रवृत्ति बढ्दै जाँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ। बजार क्षेत्रको साँघुरो सडकमा यात्रुवाहक जिप, बोलेरो, निजी सवारी तथा मोटरसाइकल जथाभावी पार्किङ गरिँदा दैनिक रूपमा सवारी आवागमन प्रभावित हुनुका साथै पैदलयात्री समेत जोखिम मोलेर हिँड्न बाध्य भएका छन्।

जिल्ला सदरमुकामको मुख्य सडक तथा व्यस्त चोक आसपासमा सडकको दायाँ,बायाँ लामबद्ध रूपमा सवारी पार्किङ गर्ने गरिएको छ। कतिपय स्थानमा सडकको आधाभन्दा बढी भाग नै सवारीले ओगटेका कारण विपरीत दिशाबाट आउने सवारीले एकअर्कालाई बाटो दिन समेत कठिन हुने गरेको स्थानीय चालक सुनित भट्टले बताए । यसले सडक मोड, उकालो तथा भीडभाड हुने स्थानमा दुर्घटनाको सम्भावना बढाएको उहाँको भनाइ रहेको छ ।

जिल्ला ट्राफिक कार्यालय बैतडीका अनुसार नियम विपरीत पार्किङ गरिएका सवारी साधनलाई कानुन अनुसार कार्वाही गरिने जनाएको छ । सवारी चालकलाई बजार क्षेत्र वा आसपासका सडक किनारमा सवारी पार्किङ नगर्न सम्झाइ बुझाइ गर्ने गरेको भएपनी सवारी चालकले नियम नमानेको खण्डमा कार्वाहीको दायरामा लिइने जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञ राज पन्तले बताए।

स्थानीय व्यवसायीहरूका अनुसार बजार क्षेत्रमा व्यवस्थित पार्किङ स्थल भएपनी चालकहरूले सडकलाई नै पार्किङस्थलको रूपमा प्रयोग गर्ने गरेका बताएका छन्। बजारमा किनमेल गर्न आउने यात्रु कुरेर बस्ने तथा सार्वजनिक सवारी सञ्चालन गर्ने चालकहरूले जथाभावी सवारी रोक्ने प्रवृत्ति बढ्दा दैनिक ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनीहरूको गुनासो छ।

जिल्ला सदरमुकाममा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, निषेधित क्षेत्रमा पार्किङ नियन्त्रण, नियमित अनुगमन तथा आवश्यक स्थानमा पार्किङ संकेत बोर्ड राख्नुपर्ने स्थानीयबासिको माग रहेको छ । उनीहरूले बजार क्षेत्रको दीर्घकालीन ट्राफिक व्यवस्थापन योजना कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार साँघुरो सडकमा अनियन्त्रित पार्किङ, बढ्दो सवारी चाप र कमजोर ट्राफिक व्यवस्थापन दुर्घटनाका प्रमुख कारण भएपनी, दुर्घटना हुनुअघि नै स्थानीय सरकार, जिल्ला प्रशासन, ट्राफिक प्रहरी, यातायात व्यवसायी र सर्वसाधारणबीच समन्वय गरि ट्राफिक नियमको पालना गर्न गराउन भनिएको जनाएको छ ।  सदरमुकाम क्षेत्रमा बढ्दो सवारी चापसँगै पार्किङ व्यवस्थापनलाई समयमै व्यवस्थित गर्न नसकिए दैनिक सास्ती मात्र होइन, भविष्यमा ठूलो मानवीय क्षति निम्त्याउने दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने चिन्ता रहेकाले सवारी व्यवस्थापन नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए ।

सडक किनारमा अनियन्त्रित रूपमा पार्किङ हुँदा एम्बुलेन्स, दमकल तथा अन्य आकस्मिक सेवाका सवारीसाधन सञ्चालनमा समेत अवरोध पुग्न सक्ने जोखिम रहेको सरोकारवालाहरू बताउँछन्। विद्यालय जाने विद्यार्थी, ज्येष्ठ नागरिक तथा महिला विशेष गरी बढी प्रभावित हुने गरेका छन्। यातायात व्यवसायीहरू भने बजार क्षेत्रमा पर्याप्त पार्किङ पूर्वाधार हुँदा पनि सडक किनारमै सवारी राख्ने गरेका छन । जिल्ला सदरमुकाम गोठलापानीबाट सय मिटर माथी बस पार्क भएपनी यात्रुवाहक सवारी साधन भने सडक किनारामा पार्किङ गर्ने गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update