Sagun Khabar
मेलौली नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयबाट गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने ९ जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

मङ्गलबार आयोजित एक औपचारिक कार्यक्रममा कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको हो । 

नगरपालिकाका अनुसार कक्षा ८ तर्फ शीतलपुर माध्यमिक विद्यालयका सचिन धनाडी प्रथम हुँदै २० हजार रुपैयाँ, सोही विद्यालयकी उर्मिला नेगी द्वितीय हुँदै १५ हजार रुपैयाँ तथा कमलपुर माध्यमिक विद्यालय, कोटीगाउँका प्रवेश ठगुन्ना तृतीय हुँदै १० हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन् । 

एसईईतर्फ शीतलपुर माध्यमिक विद्यालयका प्रशान्त सिंह विष्ट प्रथम हुँदै ३५ हजार रुपैयाँ, सोही विद्यालयका सागर नेगी द्वितीय हुँदै ३० हजार रुपैयाँ तथा दुर्गा माध्यमिक विद्यालयका पदम जोशी तृतीय हुँदै २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । 

यस्तै, कक्षा १२ तर्फ मणिलेक माध्यमिक विद्यालयका सागर भट्ट प्रथम हुँदै ३५ हजार रुपैयाँ, सोही विद्यालयका सुशान्त सिंह द्वितीय हुँदै ३० हजार रुपैयाँ तथा दुर्गा माध्यमिक विद्यालय, खलिगाडका योगेश भट्ट तृतीय हुँदै २५ हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन् । 

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको नगर प्रमुख भीमबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा अध्ययनप्रतिको रुचि, प्रतिस्पर्धात्मक भावना र उत्कृष्टता अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले विगत तीन वर्षदेखि निरन्तर उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्दै आएको छ ।

यस्तै १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा नगरपालिकाबाट प्रतिनिधित्व गरेर विभिन्न खेल विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल खेलाडीहरूलाई पनि  पुरस्कार तथा सम्मानपत्र सहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 

खेलाडीहरुको मनोबल बढाउन उनीहरुलाई सम्मान गरिएको नगर प्रमुख चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update