Sagun Khabar
बैतडीको शर्मालीगढी किल्ला जीर्ण बन्दै 

बैतडी–दुई सय वर्ष पुरानो ऐतिहासिक बैतडीको शर्मालीगढी किल्ला संरक्षण नहुँदा यसको स्वरूप बिग्रँदै गएको छ । किल्लाको पुनर्निर्माण गर्न चार करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बने पनि बजेट नहुँदा योजनाको फाइल दराजमा थन्किएको हो  ।

शिवनाथ गाउँपालिका–२, शर्मालीगढीमा रहेको किल्ला नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न शर्मालीगढी किल्ला निर्माण भएको थियो । किल्लाको संरक्षण हुन नसक्दा त्यहाँ रहेका महत्वपूर्ण ढाल, तरबार र पुराना तोप हराएका छन् । किल्लाभित्रको हतियार राख्ने कोत, घेरा पर्खाल जीर्ण बनेर भत्किसकेको छ । किल्लावरिपरि रहेको पानीको तलाउको निसानी मात्रै बाँकी रहेको छ ।   

नेपाल–अङ्ग्रेजसँगको लडाइँमा अमरसिंह थापा लडाइँको मोर्चा समाल्ने कमान्डर थिए । उनकै नामबाट यो किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी किल्ला हुँदै तत्कालीन सेना नालापानी गएको स्थानीयको भनाइ छ ।   

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धमा सामरिक महत्वका हिसाबले डडेलधुराको अमरगढी किल्ला र बैतडीको शर्मालीमा रहेको शर्मालीगढी किल्ला निकै महत्वपूर्ण रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । किल्लाको पुनर्निर्माण गर्न गाउँपालिकाले चार करोड रुपैयाँको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर तीन वर्षअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको उनले बताए ।  

गाउँपालिकाको बजेटले किल्ला पुनर्निर्माण गर्न नसक्ने भएकाले आवश्यक बजेटका लागि मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन बुझाए पनि बजेट प्राप्त नभएपछि फाइल दराजमा थन्किएको उनले गुनासो गरे । समुद्री सतहबाट १ हजार ४ सय ७५ मिटर उचाइमा  शर्मालीगढी किल्ला रहेको छ । यो किल्लाबाट डडेलधुरास्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ । 

नेपाल एकीकरण मार्ग अन्तर्गत नेपाली सेनाको अगुवाइमा २ सय ६३ मिटर लामो पदमार्ग निर्माण गर्ने प्रयास गरेको भए पनि किल्लाको पुनर्निर्माणका लागि पर्याप्त बजेट नआएको गाउँपालिका अध्यक्ष साउदले बताए ।

जीर्ण अवस्थामा रहेको शर्मालीगढी किल्लाका ढुङ्गा अहिले छरपस्ट अवस्थामा छन् । किल्लाभित्र रहेको कोतखाना भत्केपछि त्यहाँ अहिले गोठालो जाने बालबालिकाको खेल्ने ठाउँ बनेको छ । किल्लामा बाँकी रहेका केही ढाल र तरबार डडेल्धुराको अमरगढी किल्लामा सारिए पनि केही तरवार अझै पनि गाउँमा हुन सक्ने स्थानीयले बताएका छन् । 

चारैतिर रानीसल्लाको घना जङ्गलले घेरिएको यो किल्लामा पर्ने जङ्गलक्षेत्र अहिले अमरगढी सामुदायिक वन नामकरण गरिएको छ । ४ सय ९५ हेक्टर क्षेत्रफलमा फैलिएको यो घना वन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सामुदायिक वन रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update