Sagun Khabar
भौनेली स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई सम्पन्न, २ हजार ९ सय जनाले सेवा लिएको तथ्यांक 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । 

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं सुर्नया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रतापसिंह महराको अध्यक्षता र अन्य सरोकारवालाहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । 

स्वास्थ्यचौकीबाट एक बर्षको अवधिमा २ हजार ९ सय २४ जनाले सेवा लिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिइएको छ । 

गत आर्थिक बर्ष २०८२÷८३ मा स्वास्थ्य संस्थाबाट उपचारात्मक सेवाका साथै स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा,  पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका महराले बताए । 

स्वास्थ्यचौकीले आफ्नै पहलमा टोलटोलमा पुगेर नसर्ने रोगको पहिचानका लागि घरधुरी अभियान सञ्चालन गरेको उनले बताए । यस्तै किशोरीहरुका लागि विद्यालयमै गएर आइरन चक्की वितरण लगायत विभिन्न जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गरिएको उनले जानकारी दिए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य संस्थाको सेवालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउनका लागि प्रतिबद्ध रहेको बताइएको छ । स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गरेर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिन स्वास्थ्यचौकी सदैव तत्पर रहेको स्वास्थ्यचौकी प्रमुख महराले बताए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष प्रतापसिंह महराले स्वास्थ्यचौकीमार्फत सञ्चालन हुने सेवाहरुलाई प्रभावकारी बनाउन आफूले सक्दो पहल गर्ने बताए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक बर्षको आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो । भौनेली स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा २ लाख ३२ हजार २२९ रुपैयाँ आय र १ लाख २ हजार ९५० रुपैयाँ व्यय भएको जनाएको छ । यस्तै १ लाख २९ हजार २७९ रुपैया बैंक मौज्दात रहेको जानकारी दिइएको छ । 

यसैबीच स्वास्थ्यचौकीमा कार्यरत अनमी भावना धामीलाई सम्मान गरिएको छ । स्वास्थ्यचौकीमा निरन्तर सेवा दिइरहेकी धामीलाई प्रशांसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्यचौकी प्रमुख महराले बताए ।
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update