Sagun Khabar
भिडियो बनाउने ठाउँ बन्यो बैतडीको पाटन विमानस्थल 

बैतडी–करोडौं रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको बैतडीको पाटन विमानस्थल अहिले जहाज उड्ने स्थलभन्दा पनि सामाजिक सञ्जालका भिडियो, रिल र टिकटक बनाउने स्थल बनेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लालाई हवाई पहुँचसँग जोड्ने आशाका रूपमा हेरिएको यो विमानस्थलमा करिब पाँच वर्षदेखि उडान नहुँदा राज्यको लगानी बालुवामा पानी जस्तै भएको छ । 

स्थानीय बासिन्दादेखि विभिन्न ठाउँबाट पाटन पुग्ने आगन्तुकसम्मले विमानस्थलको धावनमार्गमा टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर खिच्ने गरेका छन् । 

२०५२ सालदेखि बन्द रहेको पाटन विमानस्थल २०७३ सालमा ११ करोड रुपैयाँको लागतमा २० मिटर चौडाइ र ५८० मिटर लामो धावनमार्ग, टावर र कार्यालयलगायतका संरचना पुनःनिर्माण गर्ने सम्झौता भएको थियो । सम्झौता भएको चार वर्षमा पुनःनिर्माणको काम सम्पन्न भई २०७७ असोजदेखि पाटन विमानस्थल आंशिक रूपमा फेरि सञ्चालनमा आएको थियो । 

सञ्चालनमा आएपछि करिब डेढ वर्षसम्म निजी एयरलाइन्स समिट एयरले धनगढीदेखि बैतडीको पाटनमा साप्ताहिक रूपमा उडान भरेको थियो । ४ करोड ९७ लाख रुपैयाँको लागतमा विमानस्थलका लागि टर्मिनल भवन पनि बनिसकेको छ । तर आवश्यक पूर्वाधार निर्माण भए पनि विमानस्थलमा जहाज भने उडान भएको छैन् । 

पाटन विमानस्थल सञ्चालनमा नआउँदा राज्यको करोडौं लगानी खेर गएको स्थानीय खेमराज भट्टले बताए । विमानस्थल सुचारु गर्ने बिषयमा सरकारले ध्यान दिन नसकेको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update