बैतडी–बैतडीको सतबाँझस्थित नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाले एक सदस्यका परिवारलाई बीमा र किरिया खर्च बाफतको रकम हस्तान्तरण गरेको छ ।
लघुबित्तले दशरथचन्द नगरपालिका–१ मुडापमा सञ्चालन गरेको केन्द्र नम्बर १० की सदस्य बेलुमती भाटको निधन भएपछि उनका श्रीमान हरिसिंह भाटलाई किरिया र बिमाबाफतको रकम उपलब्ध गराएको नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था सतबाँझका प्रमुख कमलराज जोशीले बताए ।
संस्थाकी सदस्य भाटले कृषि तथा पशु पालनका लागि लघुबित्तबाट ऋण निकालेकी थिइन् । सोही बेला उनको बीमा गरिएकाले बीमा र किरिया खर्च बापतको ५ लाख ५० हजार, बचत गरेको ४४ हजार ४३० रुपैयाँ गरेर ५ लाख ९४ हजार ४ सय ३० रुपैयाँ आज हस्तान्तरण गरिएको संस्थाका कनिष्ठ सहायक विनोदप्रसाद अवस्थीले बताए ।
समूहका सदस्य, स्थानीय बासिन्दा र लघुबित्तका कर्मचारीहरुको उपस्थितीमा मृतक सदस्यको घरमै पुगेर रकम हस्तान्तरण गरिएको शाखा प्रमुख जोशीले बताए । सदस्य बेलुमती भाटको गएको जेठ महिनामा निधन भएको थियो ।




