बैतडी–बैतडीको सुर्नया गाउँपालिका –२ ग्वानीस्थित गौरा खलामा निशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । स्थानीय रविन्द्र बिष्टले भायनेटसँग समन्वय गरेर व्यक्तिगत लगानीमा इन्टरनेट जडान गरेपछि स्थानीयहरुले निशुल्क रुपमा इन्टरनेट चलाउन पाउने भएका हुन् ।
धनगढीस्थित नास्ट कलेजमा इन्जिनियरिङ संकायमा अध्ययन गरिरहेका बिष्टले गौरा पर्वको अवसरमा गौरा खलामा इन्टरनेट जडान गरेका हुन् । उनले एक बर्षका लागि इन्टरनेट जडान गरेको भायनेट बैतडीका प्रमुख भीमबहादुर महराले बताए ।
स्थानीय समुदायको शिक्षा, सूचना तथा सञ्चारमा सहज पहुँच पुर्याउने उद्देश्यसहित आफूले इन्टरनेट जडान गरेको बिष्टले बताए ।
गौरा खलामा इन्टरनेट जडान भएपछि स्थानीयहरुले निशुल्क रुपमा इन्टरनेट सेवा प्राप्त गरिरहेका रविन्द्रका बुवा नरेन्द्र बिष्टले बताए । समाजमा नौलो किसिमको सेवा गर्ने उद्देश्यले इन्टरनेट जडानमा प्रोत्साहन गरेको उनले बताए ।
सार्वजनिक स्थलमा निशुल्क रुपमा इन्टरनेट सेवा प्राप्त भएपछि स्थानीयबासिन्दाहरु पनि खुशी भएका छन् ।




