बैतडी–बैतडीका २ सय ४७ जनाले घरमै राहदानी पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच गएको वैशाख १५ गते भएको सम्झौता अनुसार सेवाग्राहीको घरमै राहदानी पुर्याउने काम भइरहेको जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाशसिंह कार्कीले बताए ।
राहदानी बनाउनका लागि फारम भर्ने बेलामा घरमै राहदानी लिन चाहने नागरिकहरुको राहदानी घरमै पुर्याउने कार्य भइरहेको कार्यालय प्रमुख कार्कीले बताए । पहिलो चरणमा गएको जेठ २० गतेदेखि सेवाग्राहीको घरमै राहदानी पुर्याउने कार्य शुरु गरिएको थियो ।
राहदानी बनाउनका लागि फारम भर्ने बेलामै घरमै राहदानी लिन चाहने नागरिकले जिल्ला हुलाक कार्यालयलाई ५५ रुपैयाँ शुल्क तिरेर अनुसुची अनुसारको फारम भर्नुपर्ने हुन्छ । सो फारम भरेका नागरिकको घरमै राहदानी पुर्याउने काम भइरहेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
अहिलेसम्म हुलाकमार्फत घरमै राहदानी लिनका लागि ३ सय २६ जनाले आवेदन गरेकोमा २ सय ४७ थान राहदानी घरमा पुर्याइसकेको कार्यालय प्रमुख कार्कीले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएका २ सय ४८ थान राहदानीमध्ये २ सय ४७ थान सम्बन्धित व्यक्तिहरुको घर ठेगानामा पुर्याइएको बताइएको छ । एकजनाको राहदानी फिर्ता भएको कार्कीले बताए ।
जिल्ला हुलाक कार्यालयमा प्राप्त भएका राहदानीहरुलाई हुलाक वस्तुको रुपमा पालिका हुलाकमा पठाउने गरिएको छ । पालिका हुलाकबाट हुलाकीहरुले सम्बन्धित व्यक्तिको घर ठेगानामा राहदानी पुर्याउने कार्य गरिरहेका कार्कीले बताए ।
नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यसहित घरमै राहदानी पुर्याउने कार्य शुरु गरिएको थियो । यसले गर्दा नागरिकहरुलाई सहज भएको बताइएको छ ।




