बैतडी–नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाका लागि बैतडीमा पनि बैठक सम्पन्न गरिएको छ ।
साउन २९ गतेदेखि काठमाण्डौंमा सञ्चालन हुने राष्ट्रिय भेलाको तयारी स्वरुप बैतडीमा बैठक सम्पन्न गरिएको हो ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं २ का क्षेत्रीय सचिव धनबहादुर क्षेत्री (जगदीश)को अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका सुदूरपश्चिम सहमहामन्त्री एवं राष्ट्रिय भेलाका केन्द्रीय प्रतिनिधि चिन्तामणी भट्ट प्रमुख अतिथी रहेका थिए । राष्ट्रिय भेला जिल्ला समन्वय समिति बैतडीको आयोजनामा बैठक सम्पन्न भएको हो ।
बैठकमा नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेका नेता, नेपाल महिला संघका अध्यक्ष देवु ठगुन्ना, तरुण दलका कार्यवाहक अध्यक्ष महेशदत्त भट्ट लगायतका सहभागिता रहेको थियो ।
बैठकले नेपाली कांग्रेसलाई एकताबद्ध रुपमा अगाडि बढाउनका लागि सबैले मिलेर जानुको विकल्प नभएकोमा जोड दिएको छ । इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाले कांग्रेस एकताका लागि सहयोग पुग्ने केन्द्रीय प्रतिनिधि भट्टले दाबी गरे ।
भेलाका लागि जिल्लामा गर्नुपर्ने तयारी र एकताका लागि खेल्नुपर्ने भूमिकाका बिषयमा बैठकमा छलफल भएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्री (जगदीश)ले बताए ।




