Sagun Khabar
बैतडीको शिखरपुर स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई सम्पन्न 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं सुर्नया गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भक्तबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्यचौकी प्रमुख बीरबहादुर बोहराले संस्थाको आर्थिक, भौतिक तथा सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

स्वास्थ्यचौकी बोहराले प्रस्तुत गरेको प्रतिवेदन अनुसार स्वास्थ्यचौकीको गत आर्थिक बर्षको आयव्यय ३ लाख रुपैयाँ रहेको छ । 

यस्तै स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा सम्पादन गरेका कामहरुको विवरण सरोकारवालाहरुलाई जानकारी गराइएको स्वास्थ्यचौकी प्रमुख बोहराले बताए । 

स्वास्थ्यचौकीले नेपाल सरकारका प्राथमिकताप्राप्त कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सञ्चालन गरिरहेको जनाएको छ । स्वास्थ्यचौकीमार्फत खोप कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व कार्यक्रम, समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोग उपचार तथा नियन्त्रण कार्यक्रम र उपचारात्मक सेवा प्रदान भइरहेका स्वास्थ्यचौकी प्रमुख बोहराले बताए ।

यसैबीच सार्वजनिक सुनुवाईको अवसरमा स्वास्थ्यचौकीले एक जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरेको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन समुदायमा रहेर अतुलनीय योगदान गरेकाले सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका लीला बिष्टलाई सम्मान गरिएको हो । उनलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको स्वास्थ्यचौकी प्रमुख बोहराले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update