Sagun Khabar
बैतडीको सुर्नया –८ रातापानीमा पहिरो खस्यो, स्थानीय बासिन्दा त्रसित 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–८, ढोले रातापानी टोलमा मंगलबार पहिरो खसेपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । हरेक बर्ष बर्षातको समयमा उक्त ठाउँमा पहिरो खस्ने गरेको र मंगलबार साँझ पनि पहिरो खसेको स्थानीय रामसिंह बोहराले बताए । 

मंगलबार साँझ करिब ७ बजेदेखि निरन्तर पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको बोहराले बताए । पहिरोका कारण घर, आँगन, शौचालय, भान्सा, विद्युतका पोल, खानेपानीका पाइप तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ । कतिपय परिवार घरमा बस्नसमेत नसक्ने अवस्थामा पुगेका छन् भने केही स्थानीय छिमेकीको घरमा आश्रय लिएर रात बिताउन बाध्य भएका छन् । 

पहिरोका कारण स्थानीय उदयसिंह बोहराको घर उच्च जोखिममा परेको छ । उनको घरको छतमा पहिरो खसेको बताइएको छ । 

यस्तै गम्भीरसिंह बोहराको करिब ३ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूलमा क्षति पुगेको छ । घर नजिकै पहिरो पुगेपछि उनको घर तथा आँगनसमेत जोखिममा परेको छ । यस्तै जयसिंह बोहरा, नरबहादुर बोहरा, शलेन्द्र बोहरा र कृष्ण बोहराको करिब ५ रोपनी खेतीयोग्य जमिन पहिरोको चपेटामा परेको बताइएको छ । 

पहिरोले अर्का धनुवा बोहराको घर पनि उच्च जोखिममा परेको छ । उनको घर–आँगनको पर्खाल, शौचालय र भान्सामा पूर्ण क्षति पुगेको छ । करिब ३ रोपनीमा लगाइएको मकै तथा फलफूल पूर्ण रूपमा नष्ट भएको छ । पहिरोको डरका कारण आफू छिमेकीको घरमा आश्रय लिएर बस्नुपर्ने अवस्था आएको धनुवा बोहराले बताए । 

यस्तै पहिराले रामसिंह बोहराको घरसमेत उच्च जोखिममा परेको छ । पहिरोले घरको आँगन बगाएको छ भने विद्युतको पोलसमेत ढल्ने अवस्थामा पुगेको छ । नयाँ घर निर्माणका लागि ल्याइएको करिब एक लाख रुपैयाँ बराबरको ढुंगा पहिरोले बगाएको उनले बताए । करिब ३ रोपनीमा लगाइएको मकैबाली तथा फलफूलमा क्षति पुगेपछि रातको समयमा पहिरोको डरले छिमेकीको घरमा गएर बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । 

पहिरोका कारण स्थानीय मीना बोहरा, चक्र बोहरा, आनन्द बोहरा लगायतको घर खेतमा क्षति पुर्याएको बताइएको छ । 

२०७४ सालदेखि रातापानी टोलमा पहिरो खस्न थालेको र २०७६ सालदेखि पहिरोले ठूलो रुप लिएको स्थानीय रामसिंह महराले बताए । २०७६ सालदेखि हरेक बर्षातमा पहिरोले क्षति पुर्याउँदै आएको उनले बताए । 

पहिरो रोकथामका लागि सरोकारवाला निकायहरुलाई बारम्बार आग्रह गर्दा समेत कसैले चासो नदिएको अर्का स्थानीय गजेन्द्र बोहराले बताए । पहिरोको प्रभावकारी रोकथाम र दीर्घकालिन समाधानका उपाय नखोज्दा स्थानीयहरुले त्रसित भएर बस्नु परेको उनले बताए । 

स्थानीय सरकारले पटक–पटक पहिरो नियन्त्रणका लागि पहल गर्ने तथा समस्या समाधान गर्ने आश्वासन दिँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको स्थानीयको आरोप छ । वर्षौंदेखि पहिरोको जोखिममा रहेका परिवारको सुरक्षित व्यवस्थापन र पहिरो नियन्त्रणका लागि ठोस पहल नहुँदा स्थानीयमा थप निराशा बढेको छ ।

स्थानीयबासीले तत्काल स्थलगत निरीक्षण गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न, क्षतिको उचित मूल्यांकन गर्न, विद्युत् तथा खानेपानी सेवा पुनःस्थापना गर्न र पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना अघि बढाउन स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update