Sagun Khabar
बैतडीको प्रमुख जिल्ला अधिकारीमा मीना अर्याल आउँदै, डा. भट्टराईको बिदाइ 

बैतडी–बैतडीको प्रमुख जिल्ला अधिकारीमा उपसचिव मीना अर्याललाई खटाएको छ । सरकारले बैतडीसहितका ९ ओटा पहाडी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारीमा उपसचिव खटाउने निर्णय गरेसँगै अर्याललाई बैतडीमा खटाइएको हो । 

सहसचिवको दरबन्दी कटौती गरेपछि बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर प्रमुख जिल्ला अधिकारी भट्टराईको बिदाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सहसचिव डा.भट्टराईलाई गएको चैत २२ गते गृहमन्त्रालयले बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको थियो । सहसचिवको दरबन्दी कटौती भएपछि उनको चार महिनामै जिल्लाबाट सरुवा गरिएको हो । 

डा. भट्टराईले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दा विभिन्न सुधारका प्रयास गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट वन आवर सर्भिस, एकै कक्षबाट सबै सेवा प्राप्त हुने व्यवस्था, मासिक उत्कृष्ट कर्मचारी घोषणा लगायतका उत्प्रेरणात्मक कामहरुको उनले शुरुवात गरेका थिए । 

बैतडीको प्रमुख जिल्ला अधिकारीमा खटाइएकी मीना अर्यालले बैतडीको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्ने बताइएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update