बैतडी–बैतडीको पाटन नगरपालिका–४ स्थित भुमेश्वर स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दिपक बिष्टको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गत बर्ष सम्पादन भएका कामहरुको विवरण सार्वजनिक गरिएको थियो ।
भुमेश्वर स्वास्थ्यचौकीमा गत आर्थिक बर्षमा २ हजार १ सय १५ जनाले सेवा लिएका छन् भने ३२ जनाले सुरक्षित प्रसूती सेवा लिएका छन् । यस्तै स्वास्थ्यचौकी क्षेत्रभित्रका ५० जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेको स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले बताए ।
स्वास्थ्यचौकीले बालरोगको एकीकृत व्यवस्थापन सेवा, किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा, पोषण सेवा, नसर्ने रोगको व्यवस्थापन सेवा, परिवार नियोजन सेवा, किशोरीहरुलाई आइरन चक्की वितरण सेवा, सुरक्षित मातृत्व सेवा लगायतका सेवाहरु नियमित रुपमा प्रदान गरिरहेको छ ।
स्वास्थ्य संस्थाबाट चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा सञ्चालनमा रहेको स्वास्थ्यचौकी प्रमुख विकले बताए । स्वास्थ्य संस्थामा कार्यालय सहयोगीसहित ६ जनाले नियमित रुपमा सेवा दिइरहेका छन् ।
यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्यचौकीको गत आर्थिक बर्षको आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो । स्वास्थ्यचौकी प्रमुख विकका अनुसार गत आर्थिक बर्षमा ४ लाख ३२ हजार ५१९ रुपैयाँ आय र ४ लाख २० हजार ४३६ रुपैयाँ खर्च भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष दिपक बिष्टले स्वास्थ्यचौकीले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउन आफूले सक्दो पहल गर्ने बताए । स्वास्थ्यचौकीबाट प्रदान हुने सेवाहरुलाई प्रभावकारी बनाउन वडा कार्यालयबाट हुन सक्ने सबै सहयोग गरिने उनले प्रष्ट पारे ।
सार्वजनिक सुनुवाई कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्य, जनप्रतिनिधि, स्वास्थ्यचौकीका कर्मचारी, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।




