बैतडी–बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुग्ने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । अस्पतालमा दैनिक २ सय जति बिरामी आउने गरेकोमा १ सय २० जति भाइरल ज्वरोबाट प्रभावित हुने गरेको पन्तले बताए । अस्पतालमा आउने बिरामीमध्ये ६० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका उनले बताए ।
यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारमा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका केन्द्रका प्रमुख मुकेशकान्त दयालले बताए । दैनिक आउने बिरामीमध्ये ७० प्रतिशत भाइरल ज्वरोका बिरामी पुग्ने गरेका उनले बताए ।
गाउँघरका स्वास्थ्यचौकीहरुमा पनि भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए ।
भाइरल ज्वरोका साथै टाइफाइड, डेङ्गी, स्क्रबटाइफसका बिरामी पनि फाटफुट रुपमा आउने गरेको अस्पतालका सूचना अधिकारी पन्तले बताए ।
भाइरल ज्वरोका बिरामीहरुमा ज्वरो बढ्ने,चिसो महसुस हुने, हल्का खोकी लाग्ने, घाँटी दुख्ने, हाँच्छिऊ आउने , नाकबाट पानी आउने, टाउको, शरीर तथा हाडजोर्नी दुख्ने लक्षण रहेका बताइएको छ ।
मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोको संक्रमण बढेकोले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।




