बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–३ बरकुरालीस्थित बरमनाथ आधारभूत विद्यालयको भवनमा पहिरोले क्षति पुर्याएको छ ।
आइतबार दिउँसो १२ बजेतिर विद्यालय भवनमाथिबाट खसेको पहिरोले दुई कोठे भवनको एक कोठामा क्षति पुर्याएको विद्यालयका प्रधानाध्यापक लछि नाथले बताए । विद्यार्थीहरुका लागि दिवा खाजा पकाउने भान्सा कोठामा पहिरोले क्षति पुर्याएको उनले बताए ।
पहिरोका कारण कोठाभित्र रहेका भाँडाकुडा, ग्यास लगायतका सामग्रीमा समेत क्षति पुगेको छ ।
पहिरोका कारण विद्यालयको अर्को दुई कोठे भवन पनि जोखिममा परेको छ । अर्को भवनको तलतिरबाट पहिरो खसेकाले माथि रहेको भवन जोखिममा परेको हो ।
कक्षा ८ सम्मको पढाइ हुने उक्त विद्यालयको भवनमा पहिरोले क्षति पुर्याएपछि पठनपाठनमै समस्या हुने प्रधानाध्यापक नाथले बताए । विद्यालय भवनमा पहिरोले क्षति पुर्याएपछि समस्या समाधानका लागि सरोकारवाला निकायहरुलाई आग्रह गरिएको प्रधानाध्यापक नाथले बताए ।




