Sagun Khabar
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनमा पशु चिकित्सक हाजिर 

बैतडी–बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले लामो समयपछि दरबन्दीका पशु चिकित्सक पाएको छ । 

विज्ञ केन्द्रले करीब २ बर्षपछि पशु चिकित्सक पाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तले बताए । दुई बर्ष अघि करारका पशु चिकित्सकले सेवा दिइरहेकोमा उनले लोक सेवा आयोगबाट नाम निकालेपछि अन्यत्र गएका थिए । 

केन्द्रमा सातौं तहका पशु चिकित्सक पार्वती कडायत हाजिर भएका कार्यालय प्रमुख पन्तले बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पशु चिकित्सक हाजिर भएसँगै पशु उपचारको क्षेत्रमा सहज हुने बताइएको छ । 

यस्तै जिल्लाबाट पशु चौपायाहरु बाहिर निर्यात गर्दा पनि आवश्यक पर्ने परीक्षणमा यसअघि कठीनाइ हुँदै आएको थियो । पशु चिकित्सक हाजिर भएपछि अब यो समस्या पनि समाधान हुने पन्तले बताए । 

मरेका पशु र वन्यजन्तुहरुको पोष्टमार्टम गर्न समेत अब सहज हुने भएको छ । यसअघि केन्द्रमा पशु चिकित्सक नहुँदा पोष्टमार्टमका लागि अन्यत्र जिल्ला धाउनुपर्ने अवस्था रही आएको थियो । 

कार्यालयमा पशु चिकित्सक हाजिर भएसँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्रदान गर्ने सेवा थप प्रभावकारी हुने केन्द्र प्रमुख पन्तको दाबी छ ।  
 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update