बैतडी - बैतडीको सुर्नया गाउँपालिका वडा नं. ३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीले आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी ‘अन कल’ आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।
आम जनसमुदायलाई स्वास्थ्य सेवामा सहजता पु¥याउने उद्देश्यले यही असोज २९ गते बसेको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले फोनमार्फत आकस्मिक सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
यो सेवा सार्वजनिक बिदाको दिन र नियमित कार्यालय समय सकिएपछि मात्र प्रदान गरिने स्वास्थ्य चौकीले जनाएको छ । बिरामीको अवस्था र समस्याको आधारमा घरमै गएर वा स्वास्थ्य संस्थामै सेवा प्रदान गरिनेछ ।
सेवा लिनका लागि स्वास्थ्य चौकी प्रमुख दल बहादुर विष्ट ९८४५८२५४०, सि.अ.हे.व. नैन सिह ऐरी ९८४८८३५२१७ र अ.हे.व. आशिका कुमारी चौधरी ९७६१७०१७४१ को सम्पर्क नम्बर सार्वजनिक गरिएको छ ।
साथै, आकस्मिक सेवाको बहानामा सामान्य स्वास्थ्य समस्या भएकाहरूले स्वास्थ्यकर्मीहरूलाई अनावश्यक दुःख नदिन पनि स्वास्थ्य चौकी प्रशासनले आग्रह गरेको छ ।




