Sagun Khabar
अपिहिमालको आधार शिविरमा पर्यटन उत्सव शुरु ,सुदूरपश्चिमको प्रमुख गन्तव्य बनाउने लक्ष्य

दार्चुला –दार्चुलाको अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित अपि हिमाल पर्यटन उत्सव–२०८३ शुरु भएको छ । 

अपिहिमाल गाउँपालिका–१ स्थित अपि हिमालको आधार शिविरमा पर्यटन उत्सव शुरु भएको हो । पर्यटन उत्सवको सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले उद्धाटन गरेका छन् । उत्सवका लागि मुख्यमन्त्री भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल र सभामुख भीमबहादुर भण्डारी हेलिकप्टरमार्फत अपि पुगेका थिए । 

पर्यटन उत्सव कार्तिक १९ गतेसम्म सञ्चालन हुने अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए । 

अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय केन्द्र बनाउने लक्ष्यसहित तीन दिनसम्म विभिन्न रचनात्मक तथा आकर्षक कार्यक्रमसहित उत्सवको शुरुवात गरिएको उनले बताए । 

उत्सवको पहिलो दिन प्रदेश तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त साहित्यकार, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठी आयोजना भइरहेको छ । दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । 

अपिहिमाल क्षेत्रलाई ‘वेलनेस टुरिजम’को केन्द्रका रूपमा विकास गर्न तेस्रो दिन योग तथा ध्यान शिविर सञ्चालन गरिने अध्यक्ष बोहराले बताए । 

उत्सवको अन्तिम दिन जलवायु परिवर्तनमा केन्द्रित विशेष ‘जलवायु संवाद’ आयोजना गरिनेछ । आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुन लागेको संवादमार्फत जलवायु परिवर्तनले नेपालको उच्च हिमाली क्षेत्रमा पारेको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइनेछ । 

उत्सवको मुख्य उद्देश्य अपि हिमाल क्षेत्रलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु, स्थानीयवासीको जीविकोपार्जनमा सुधार ल्याउनु, स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नु र जलवायु अनुकूलनका कार्यक्रमलाई प्रवद्र्धन गर्नु रहेको अध्यक्ष बोहराले बताए । 

पछिल्लो समय अपि हिमाल क्षेत्रमा वार्षिक पाँच हजारको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । यसवर्ष पर्यटकको संख्या १० हजार पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको छ । गाउँपालिकाले प्रदेशस्तरीय पर्यटन उत्सवमा सहभागी भएर पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउन सबैलाई आह्वान गरेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टले उत्सवमा सहभागी हुन सबैलाई आमन्त्रण गरेका छन् । सुदूरपश्चिमको सबैभन्दा अग्लो सात हजार १३२ मिटर उचाइको अपि हिमाल पर्यटनका दृष्टिकोणले निकै सम्भावना बोकेको क्षेत्र हो । तर, अपि हिमालको आधार शिविरसम्म हालसम्म न्यून संख्यामा मात्रै पर्यटक पुग्दै आएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update