बैतडी–बैतडीमा मतदाताको संख्या घटेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाताको संख्या अद्यावधिक गरिएको र गत निर्वाचनको तुलनामा मतदाताको संख्या घटेको छ ।
गत फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा १ लाख ५६ हजार ३ सय ७२ जना मतदाता रहेका थिए । गएको चैतदेखि मतदाता नामावली अद्यावधिक कार्य शुरु गरिएको र भदौ १५ गतेसम्म १८ बर्ष पू्रा भएका मतदाताको संख्या १ लाख ५४ हजार ९ सय ४४ रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । जसमा ७८ हजार १ सय ८१ पुरुष, ७६ हजार १ सय ५२ महिला र ३ जना अन्य मतदाता रहेका छन् ।
मतदाता नामावली अद्यावधिक कार्य गर्दा मृत्यु भएका मतदाताहरुको नाम हटाइएको र दोहोरो नामावली भएका मतदाताहरुको नामावली हटाइएको सूचना अधिकारी दयालले बताए । जिल्लाबाट बसाँईसराइ गरेर जानेको संख्या बढी भएकाले मतदाताको संख्या घटेको सूचना अधिकारी दयालले बताए ।
मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका ३ हजार ७ सय ८ जनाको नाम नामावलीबाट हटाइएको दयालले बताए ।
प्रदेश सभा क्षेत्र नम्बर (१) मा ३८ हजार ६ सय ८ पुरुष, ३७ हजार ४ सय ५५ महिला र १ जना अन्य मतदाता रहेका छन् । यस्तै प्रदेश सभा क्षेत्र नम्बर (२) मा ३९ हजार ५८१ पुरुष, ३९ हजार २ सय ९७ महिला र दुई जना अन्य मतदाता रहेका छन् ।
कुल मतदातामध्ये दशरथचन्द नगरपालिकामा २३ हजार २६३ जना मतदाता रहेका छन् भने पाटन नगरपालिकामा २० हजार ७ सय ५२ जना मतदाता रहेका छन् । यस्तै पुर्चौंडी नगरपालिकामा २१ हजार ५६८ मतदाता रहेका छन् भने मेलौली नगरपालिकामा १४ हजार १० जना मतदाता रहेका छन् ।
यस्तै डिलाशैनी गाउँपालिकामा १३ हजार ९ सय २७, दोगडाकेदार गाउँपालिकामा १५ हजार १९०, पञ्चेश्वर गाउँपालिकामा ११ हजार ३५७, शिवनाथ गाउँपालिकामा १० हजार २२१, सिगास गाउँपालिकामा १२ हजार ८९० र सुर्नया गाउँपालिकामा ११ हजार ७६६ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




