बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा निशुल्क दन्त तथा स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
युनाइटेड नेपाल फाउण्डेसन भक्तपुर, सगरमाथा हेल्थ फाउण्डेसन महाराजगञ्ज र हेल्थ केयर नेपालको आयोजना र सुर्नया गाउँपालिकाको समन्वयमा आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म निशुल्क स्वास्थ्य शिविर सञ्चालनको तयारी भएको युनाइटेड नेपाल फाउण्डेसनका अध्यक्ष केशवबहादुर चन्दले बताए ।
स्थानीयस्तरमा नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गर्न लागिएको अध्यक्ष चन्दले बताए । शिविरमा आएर सेवा लिन समेत आग्रह गरिएको छ ।
पाँच दिन सम्म सञ्चालन हुने शिविरले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास लिइएको छ । दाँत सम्बन्धी समस्या भएका नागरिक र स्त्रीरोग सम्बन्धी समस्या भएकाहरुलाई शिविरमा आएर सेवा लिन आग्रह गरिएको छ ।




