बैतडी –बैतडीको दशरथचन्द नगरपालिका –८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा भव्य जात्रा लाग्ने गरेको छ ।
यो बर्षको जात्रा आजदेखि शुरु भएको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले बताए । आजको जात्रालाई स्थानीय भाषामा ‘नानी जात’ भन्ने चलन रही आएको छ । नवमीका दिन लाग्ने जात्रालाई ‘ठूली जात’भन्ने गरिएको थापाले बताए ।
रणशैनी भगवतीको रुपमा परिचित त्रिपुरासुन्दरीको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको छ । अन्य समयको तुलनामा कार्तिकको जात्रामा भक्तजनको भीड लाग्ने गरेको थापाले बताए ।
त्रिपुरासुन्दरीको जात्रामा सहभागी हुने दर्शनार्थीहरुलाई चिउरीको दुनामा पूजा सामग्री ल्याउन आग्रह गरिएको छ । अन्य भाँडाकुडामा पूजा सामग्री ल्याउँदा व्यवस्थापन गर्न समस्या हुने भएकाले चिउरीको दुनामा पूजा सामग्री ल्याउन आग्रह गरिएको थापाले बताए ।
चिउरीको दुनामा पूजा सामग्री ल्याएमा सोही दुनामा मन्दिरबाट प्रसाद दिन समेत सहज हुने बताइएको छ । अन्य भाँडाकुँडामा पूजा सामग्री ल्याउँदा व्यवस्थापनमा निकै झण्झट हुने भएकाले भक्तजनहरुलाई यस्तो आग्रह गरिएको थापाले बताए ।
त्रिपुरासुन्दरीको जात्रामा पशु बली दिने चलन समेत रही आएको छ । यो जात्रामा राँगा र बोकाको बली दिने चलन रहेको थापाले बताए । आज मन्दिरमा राँगा बाँध्ने र भोलि बलि दिइने थापाले बताए ।
भोलि बिहान मन्दिरबाट कापडी गाउँमा भगवतीको सवारी गराउने परम्परा रही आएको छ ।




