बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–४ स्थित देगडा भगवती मन्दिरमा यही मंसिर ७ र ८ गते जात्रा लाग्ने भएको छ ।
उक्त मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गरेको छ । देगडा भगवतीको जात्रामा पशु बलि दिने चलन समेत रही आएको छ ।
देगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा शिवनाथ गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । देगडा भगवती मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै मंसिर ७ र ८ गते गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
मंसिर ३ गतेको अध्यक्षस्तरको निर्णय अनुसार मंसिर ७ र ८ गते गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि गाउँपालिकाले शिवनाथ धाममा लागेको जात्राको अवसरमा पनि दुई दिन सार्वजनिक बिदा दिएको थियो ।




