बैतडीको हल्दुविनायक प्रहरीचौकीका प्रमुख धामी उत्कृष्ट प्रहरी घोषित

बैतडी– बैतडीको हल्दुविनायक प्रहरीचौकीका प्रमुख, प्रहरी सहायक निरीक्षक कुन्दनसिंह धामी उत्कृष्ट प्रहरी घोषित भएका छन् । 

धामीले प्रहरी संगठनले सुम्पेको जिम्मेवारी पूर्ण लगनशील र कर्तव्यनिष्ठ भएर पूरा गरेकोमा उनलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

भारतसँग जोडिएको विनायक घाटबाट गएको असोज २८ गते अवैध रुपमा भन्सार छली ल्याएका ३ लाख १७ हजार ७१० रुपैयाँ बराबरको समान विनायक जंगलबाट धामीकै नेतृत्वमा बरामद गरिएको थियो । 
यस्तै विभिन्न मितिमा अवैध रुपमा उत्खनन गरिएका नदीजन्य सामग्री समेत धामीकै नेतृत्वमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

धामीको नेतृत्वमा भएका कामहरुले प्रहरी संगठनको गरिमा र श्रृवृद्धिमा सहयोग पुगेकाले उनको कामको उच्च मूल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा घोषणा गरेर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

धामीको कामलाई रेकर्डमा राखिने गरेर उनलाई सम्मान पत्र, दोसल्लासहित पुरस्कार वितरण गरिएको प्रहरी निरीक्षक सिंहले बताए । 

धामीलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरेर सम्मान गर्दै आएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update