बैतडीको पाटनले एआई एक्सरेको प्रयोग गरेर क्षयरोगका बिरामी खोज्दै

बैतडी–बैतडीको पाटन नगरपालिकाले एआइ एक्सरेको प्रयोग गरेर क्षयरोगका बिरामी खोज्न थालेको छ । 

नगरपालिकाका विभिन्न वडामा खोजपड्ताल शिविर सञ्चालन गरेर समाजमा लुकेर रहेका बिरामीहरुको खोजी कार्य भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

क्षयरोगको सम्भावित लक्षण भएका व्यक्तिहरुलाई लक्षित गरेर बिहीबारदेखि खोजपड्ताल शिविर सञ्चालन गरिएको उनले बताए । शिविरमा एआइ एक्सरेको प्रयोग गरेर क्षयरोगका बिरामीहरुको खोजी गर्ने कार्य भइरहेको महराले बताए । 

बिहीबार वडा नं १ सकारमा सञ्चालन भएको शिविरमा ९५ जनाको एआई एक्सरे गरिएको छ । ती मध्ये १४ जनाको खकार संकलन गरेर थप परीक्षण गर्ने तयारी भएको उनले बताए । 

यस्तै शुक्रबार पाटन नगरपालिका वडा नं ७ स्थित कैलपाल स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । उक्त शिविरमा १ सय ४६ जनाको एआइ एक्सरे गरिएको छ । ती मध्ये २९ जनाको खकार संकलन गरिएको छ । प्रयोगशालाका खकारको परीक्षण गरेर क्षयरोग भए÷नभएको बारेमा पत्ता लगाइने महराले बताए । 

यस्तै शनिबार पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गर्ने तयारी रहेको छ । आइतबार पाटन नगरपालिका वडा नं ५ को कार्यालय वसन्तपुर देवलमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update