बैतडी–लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बैतडीको दशथचन्द नगरपालिकाले लैङ्गिक हिंसासम्बन्धी मनोपरामर्श तथा बहुपक्षीय सेवा प्रवाह सूचना कक्ष सञ्चालनमा ल्याएको छ ।
अभियानअन्तर्गत नगरपालिकाका विभिन्न ठाउँमा घुम्ती रुपमा सूचना कक्ष सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् ।
लैङ्गिक हिंसाका बारेमा जानकारी दिने, हिंसाविरुद्ध बनेका कानुनहरुको बारेमा जानकारी दिने, हिंसामा परेकाहरुलाई मनोपरामर्श सेवा दिने उद्देश्यले सूचना कक्षा सञ्चालनमा ल्याइएको कुँवरले बताइन् ।
जिल्लाको गोठलापानीमा लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत बिहीबार र शुक्रबार सूचना कक्षा सञ्चालन गरिएको थियो । देहीमाण्डौं, गुरुखोला, मुस्याचौर लगायतका क्षेत्रमा पनि सूचना कक्ष सञ्चालन गर्ने तयारी रहेको कुँवरले बताइन् । देहीमाण्डौंमा मंसिर १४ र १५ गते सूचना कक्ष सञ्चालन हुनेछ भने मुस्याचौरमा मंसिर २१ र गुरुखोलामा मंसिर २२ गते सूचना कक्ष सञ्चालन गरिने उनले बताइन् ।
लैङ्गिक हिंसाविरुद्ध सूचना कक्षमार्फत विभिन्न सचेतनामूलक कार्यहरु भइरहेका छन् । सूचना कक्षमा आउनेहरुलाई कानुनको बिषयमा जानकारी दिनुका साथै हिंसा न्यूनीकरणका बिषयमा छलफल गर्ने गरिएको नगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक अम्बादत्त बोगटीले बताए ।
हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको कुँवरले बताइन् ।




