क्षयरोगमुक्त अभियान : बैतडीको सुर्नयामा खोजपड्ताल शिविर सञ्चालन हुने

बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा क्षयरोगका बिरामीहरुको खोजीका लागि शिविर सञ्चालन हुने भएको छ । यही मंसिर १४ गतेदेखि १६ गतेसम्म पालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा शिविर सञ्चालनको तयारी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोग र सुर्नया गाउँपालिकाको आयोजनामा शिविर सञ्चालनको तयारी भएको हो । शिविरमा एआइ जडित डिजिटल एक्सरेमार्फत सम्भावित लक्षण तथा चिन्ह भएका व्यक्तिहरुको एक्सरे गरिने महराले बताए । 

समुदायमा रहेका क्षयरोगका बिरामीहरुको खोजीका लागि शिविरमार्फत सेवा दिने तयारी भएको हो । उपचारको दायराभन्दा बाहिर रहेका बिरामीहरुलाई उपचारको दायरामा ल्याउनका लागि शिविर सञ्चालन हुने महराले बताए । 

मंसिर  १४ गते सुर्नया गाउँपालिका–६ स्थित शंकरपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने मंसिर १५ गते वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै मंसिर १६ गते वडा नं २ स्थित वासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने उनले बताए । 

सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त पालिका अभियान सञ्चालनमा रहेको छ । सुर्नयामा क्षयरोगमुक्त अभियान अन्तर्गत खोजपड्ताल शिविर सञ्चालन गर्न लागिएको हो । स्थानीय स्वास्थ्य संस्थामा सञ्चालन हुने शिविरमा सहभागी भएर जाँच गराउन गाउँपालिकाले आग्रह समेत गरेको छ । 

समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउनका लागि शिविरको आयोजना गरिएको महराले बताए । सुर्नयामा अहिले तीन जना क्षयरोगका बिरामी उपचारमा रहेका छन् । 

क्षयरोगको सम्भावित लक्षण भएका, क्षयरोगको बिरामीको सम्पर्कमा रहेका, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, एचआइभी संक्रमित, कुपोषित र मधुमेह भएका व्यक्तिहरुलाई आफ्नो पायक पर्ने स्थानमा आएर क्षयरोगको जाँच गराउन आग्रह गरिएको छ । 

लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुँदै जानु  क्षयरोगका सम्भावित लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update