बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले ई–गभर्नेन्स सेवा सुरु गरेको छ । पहिलो चरणमा कार्यालयले अनलाइन माध्यमबाटै आदिवासी–जनजाति, खस–आर्य तथा दलित प्रमाणित गर्ने सेवा सञ्चालनमा ल्याएको हो ।
जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सदरमुकाम पुगेर सेवा लिँदा सर्वसाधारणले व्यहोर्नुपर्ने समय र आर्थिक खर्चलाई मध्यनजर गर्दै कार्यालयले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने (फेसलेस) डिजिटल सेवा सुरु गरेको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मीना अर्यालले शुक्रबार जारी गरेको सूचनाअनुसार ई–गभर्नेन्सको अवधारणाअनुरूप सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कागजात कार्यालयको इमेल ठेगानामा पठाउन सक्नेछन् ।
कार्यालयमा निवेदन प्राप्त भएको एक घण्टाभित्रै आवश्यक सिफारिस पत्र सम्बन्धित व्यक्ति वा वडा कार्यालयको इमेलमा पठाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।
यो सेवा लिन सेवाग्राहीको नेपाली नागरिकता प्रमाणपत्रमा राष्ट्रिय दलित आयोग, आदिवासी–जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ वा राष्ट्रिय समावेशी आयोगले सूचीकृत गरेका खस–आर्य समुदायमध्ये कुनै एकको थर स्पष्ट रूपमा कायम भएको हुनुपर्ने कार्यालयले जनाएको छ ।
अनलाइन आवेदन गर्दा सम्बन्धित वडा कार्यालयको स्पष्ट व्यहोरासहितको प्रमाणित सिफारिस पत्र, सेवाग्राहीको निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रङ्गीन स्क्यान प्रति, सम्पर्क नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारू, नायब सुब्बा अनिल घरडी र नागरिक सहायता कक्षका परमानन्द ऐरलाई सम्पर्क व्यक्ति तोकेको सूचनामा उल्लेख छ ।
प्रशासनको यो प्रयासले नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।




