बालविवाह अन्त्यका लागि सक्रिय हुने धार्मिक अगुवाहरुको प्रतिबद्धता

बैतडी–बैतडीका धार्मिक अगुवाहरुले बालविवाह अन्त्यका लागि सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बालविवाह लगायतका हानिकारक प्रचलन अन्त्यको लागि पाटन नगरपालिका–२ मा आयोजना गरिएको अन्तरक्रियात्मक छलफलमा सहभागी भएका धार्मिक अगुवाहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

गल्स फस्ट फण्डको सहयोगमा परोपकार ग्रामीण विकास संघले सञ्चालन गरिएको बालविवाह रोकथाम र किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत वडा कार्यालयको समन्वयमा अन्तरक्रियात्मक छलफलको आयोजना गरेको हो । 

उक्त कार्यक्रममा सहभागी धार्मिक अगुवाहरुले बालविवाहका कारण समाजमा धेरै समस्या हुने भएकाले आफूहरु बालविवाह न्यूनीकरणको अभियानमा लागिरहेको बताएका छन् । बालविवाहका कारण समस्या भोगेका मानिसहरु धेरै देखिएकाले बालविवाहको अन्त्यका लागि समुदायस्तरमा आफूहरुले पहल गर्ने स्थानीय धार्मिक अगुवा गणेशदत्त पन्तले बताए । 

बालविवाहजस्ता हानिकारक प्रचलनको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै अर्का धार्मिक अगुवा लक्ष्मीदत्त पन्तले यस्ता सचेतनामूलक कार्यक्रमहरु बस्तीस्तरसम्म सञ्चालन हुनुपर्नेमा जोड दिए । पछिल्लो समयमा भागी विवाहका कारण बालविवाह भइरहेकाले प्रविधिको सदुपयोग गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए । उनले भने,‘किशोरावस्थाका मानिसहरु लहलहैमा लागेर सानै उमेरमा विवाह गरिरहेका घटना देखिन्छन् । यसले भोलिका दिनमा समस्या निम्त्याउने देखिएको छ । त्यसैले यस्ता प्रचलन हटाउन हामी सबैको सामूहिक प्रयास आवश्यक छ ।’

बालविवाहले लैङ्गिक हिंसा, घरेलु हिंसामा वृद्धि हुने भएकाले बालविवाह अन्त्यका लागि समाजका सबै वर्ग लाग्नुपर्नेमा धार्मिक अगुवा राजेश कोलीले जोड दिए । 

समाजमा रहेका धामी,पण्डित, पूजारी र ज्योतिषहरुको बालविवाहजस्ता हानिकारक प्रचलन हटाउन महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुसँग अन्तरक्रियात्मक छलफल गरेको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

संस्थाले बालविवाह अन्त्यका लागि किशोरकिशोरी रुपान्तरण कक्षाका साथै अभिभावक अन्तरक्रिया, धार्मिक अगुवाहरुसँग अन्तरक्रिया, अन्तरपुस्ता सम्वाद लगायतका कार्यक्रम गरिरहेको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए ।  

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update