Sagun Khabar
सुर्नयाका अध्यक्ष कुवँरले गरे पदभार ग्रहण, निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले गरीब, असहाय, जेष्ठ नागरिक, दुर्घटनामा परेका व्यक्ति र सुत्केरी आमाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष अम्मरबहादुर कुँवरले सो निर्णय गरेका हुन् । 

गाउँपालिकाभित्रका गरीब, जेष्ठ नागरिक, दुर्घटनामा परेका व्यक्ति र सुत्केरी आमाहरुलाई उपचारमा सहज होस भनेर जिल्लाभित्र र जिल्ला बाहिर डडेल्धुरा सम्म निशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको अध्यक्ष कुँवरले बताए । उनले भने ‘गाउँपालिकाभित्रका नागरिकलाई सहज होस भनेर यो निर्णय गरेका हौं । यो निर्णयले पालिकाका नागरिकलाई केही सहज हुने हाम्रो विश्वास छ ।’

पद्भार ग्रहण गर्दै अध्यक्ष कुँवरले गाउँपालिकालाई समुन्नत र समृद्ध बनाउनका लागि आफूले पहल गर्ने बताए । पालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा अब्बल बनाउने उनको दाबी छ । नवनिर्वाचित अध्यक्ष कुँवरले शुक्रबार शपथ ग्रहण गरेपछि शुक्रबार नै पद्भार ग्रहण गरेका हुन् ।  
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update