Sagun Khabar
माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं – प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने माधवकुमार नेपालसहितका ११ सांसदलाई स्पष्टीकरण सोध्ने नेकपा एमालेले निर्णय गरेको छ।

शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विपक्षी दलको नेतालाई प्रधानमन्त्री बन्न सहयोग गर्नेहरुलाई स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ’ ज्ञवालीले भने,‘ उनीहरुको जबाफ अनुसार थप कारबाही अघि बढाउने निर्णय भएको छ। नेता नेपाल लगायतका एमालेका २६ सांसदले प्रधानमन्त्रीमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। 

स्वास्थ्य सन्देश
Atrya hospital

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका १५ जना नेतासँग भने स्पष्टिकरण मागिएको छैन। देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको ज्ञवालीले बताए।

हस्ताक्षर गरेको भनिएका केहीले माधव नेपाललाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको र देउवाका लागि नगरेको बताएको ज्ञवालीले सुनाए। लिखित स्पष्टीकरण सोधेका मध्ये नेपाल, खनाल र रावल वाहेक बाँकी सबै समानुपातिक सांसद हुन्। सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ।

स्पष्टीकरण सोधिएका सांसद

१ःझलनाथ खनाल

२ः माधवकुमार नेपाल

३ः भीमवहादुर रावल

४ः मुकुन्द न्यौपाने

५ः रामकुमारी झाँक्री

६ः सरला यादव

७ः पुष्पाकुमारी कर्ण

८ः कलिला खान

९ः निरादेवी जैरु

१०ः लक्ष्मी कुमारी चौधरी

११ः कल्याणी खड्का

– थाहा खबरबाट 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update