
बैतडी –लगातारको बर्षाका कारण बैतडीको ढोल्यामोड–हाट सडक हिलाम्य भएको छ । पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडक हिलाम्य हुँदा यातायातका साधन सञ्चालनमा कठीनाइ भएको छ ।
ढोल्यामोडदेखि हाट सम्मको सडकको ठाउँठाउँमा पहिरो खस्दा सवारी साधन सञ्चालनमा मुस्किल भएको यातायात व्यवसायीहरुले बताएका छन् । कच्ची सडक भएकाले सडक हिलाम्य हुँदा जिप तथा बस सञ्चालनमा समस्या भएको स्थानीय पुरनसिंह ऐरले बताए । उनले भने ‘सडक हिलाम्य हुँदा जोखिमपूर्ण यात्रा गर्नुपरीरहेको छ । यसले दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।’
ढोल्यामोडदेखि हाट सम्मको सडकमा यात्रा गर्न निकै सकस रहेको स्थानीय लालबहादुर भण्डारीले बताए । सडक हिलाम्य हुँदा गाडी फस्दा यात्रुहरुले धकेलेर निकाल्नुपर्ने अवस्था रहेको उनले बताए ।
ढोल्यामोड–हाट सडक पुर्चौंडी नगरपालिका जोड्ने मुख्य सडक समयमै स्तरोन्नती नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।
जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकलाई प्रदेश गौरवको आयोजनाको रुपमा राखिएको भएपनि स्तरोन्नतीको काम सुस्त गतिमा रहेको छ । सो सडकको दुई ठाउँबाट स्तरोन्नती भइरहेको छ ।