Sagun Khabar
बैतडीका कैदीबन्दीको कारागारभित्रै राष्ट्रिय परिचय पत्र विवरण संकलन 

बैतडी –जिल्ला कारागार बैतडीका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ ।
कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचय पत्रका लागि शुक्रबार विवरण संकलन गरिएको हो ।

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँगै आवश्यक कागजात नभएकाले १७ जनाको मात्रै विवरण संकलन जिल्ला कारागार बैतडीका जेलर धारा भण्डारीले बताइन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्र अनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण संकलन गरिएको हो ।

कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौति हुने भएकोले कारागारभित्रै टोलीले विवरण संकलनको काम गरेका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

बैतडीमा वि.स. २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम सुरु भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण संकलन भइसकेको छ ।

सुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल अभियानकै रुपमा वडास्तरमै उक्त कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update