बैतडी –सुर्नया नदीमा मोटरेबल पुल समयमै निर्माण नहुँदा बैतडीको पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अवरुद्ध भएको छ । बर्खा लागेसंगै सुर्नया नदीमा पानीको बहाव बढेपछि सडक अवरुद्ध बनेका हो । नदीमा पानीको बाहव बढेपछि सकार कैलपालबाट पाटन जोड्ने एक मात्र सडक अवरुद्ध बनेको स्थानीय मदन भट्टराईले बताए । सुर्नया नदीमा मोटरेबल पुल नबन्दा हरेक बर्ष बर्षायाममा सडक अवरुद्ध हुने गरेको उनले बताए ।
सुर्नया नदीमा २०७१ साल भदौमा मोटरेबल पुल निर्माण कार्य शुरु गरिएको भएपनि अहिले सम्म सो कार्य पूरा हुन सकेको छैन् । पुल निर्माण कार्य शुरु भएको ८ बर्ष बितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न नभएको हो । तीन बर्षभित्र पुल निर्माण गरिसक्ने लक्ष्य सहित मोटरेबल पुल निर्माण कार्य शुरु भएपनि अहिले सम्म पुल निर्माण नहुँदा स्थानीयहरु मारमा परेका छन् ।
लामो समयसम्म पुल निर्माण नहुँदा डैसीली, लदौली, सकार, बाडुलासौँ, पोखरी, गनडा, किम्तोली, उल्लका नागरिकहरु आक्रोशित बनेका छन् । ठेकेदारको लापरबाहीले समयमै पुल निर्माण हुन नससकेको स्थानीयहरुको आरोप छ ।
यता पुल निर्माणको जिम्मा पाएको एस के निर्माण सेवाले भने सम्झौता भएको ४२ महिना सम्म पुल निर्माणस्थल पुग्ने बाटो निर्माणमा स्थानीयले विवाद गर्दा काम गर्न नपाएको बताएको छ । संघीयता आएपछि प्रदेश सरकारले बनाउने कि संघीय सरकारले बनाउने भन्ने बिषयमा अन्यौल हुँदा पुल निर्माणमा ढिलाई भएको एस के निर्माण सेवाका सञ्चालक मदनमोहन बिष्टले बताए ।
२ करोड ९० लाखको लागतमा निर्माण भइरहेको पुलको ७० प्रतिशत काम सम्पन्न भईसकेको बिष्टले बताए । पछिल्लो समयमा २०८० असार मसान्त सम्म ठेक्का म्याद थपिएको भएपनि २०७९ को माघ महिना सम्म पुल निर्माण गरिसक्ने बिष्टले बताए ।
पुल नहुँदा वर्षातको समयमा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागि समेत समस्या हुने गरेको स्थानीयहरुले बताएका छन् ।




