बैतडी – दरबन्दीका चिकित्सको समेत अभाव झेलीरहने जिल्ला अस्पताल बैतडीमा पछिल्लो समयमा भने दुई जना बिशेषज्ञ सहित ९ जना डाक्टरले सेवा दिन थालेका छन् । छात्रवृति करार सहितका ९ जना चिकित्सकले अहिले जिल्ला अस्पतालमा सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए ।
अस्पताल स्थापना यता पहिलो पटक २ जना बिशेषज्ञ सहित ९ जना चिकित्सकले जिल्ला अस्पतालमा सेवा दिन थालेका हुन् ।
जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीहरुको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताए । उनले भने ‘जिल्ला अस्पताल बैतडीमा पहिलो पटक २ जना बिशेषज्ञ सहित ९ जना डाक्टरले सेवा दिइरहेका छन् । यसले बिरामीहरुलाई पनि सजिलो भएको छ ।’
अस्पतालमा अहिले एकजना एमडिजीपी डाक्टर छन् भने अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठ एनेस्थेसियोलोजिस्ट हुन् ।
जिल्ला अस्पताल बैतडीमा गर्भवती महिलाहरुको शल्यक्रिया गरेर प्रसुती गराउने व्यवस्था रही आएको छ भने अन्य शल्यक्रिया सेवाहरु पनि थप गरिने अस्पताल प्रमुख डा. श्रेष्ठले बताए ।




