बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४३ करोड २७ लाख ३४ हजार बजेट ल्याएको छ । शनिबार सम्पन्न ११ औं गाउँसभाले आगामी आर्थिक बर्षका लागि सर्वसम्मत रुपमा बजेट पारित गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
बजेटले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । गाउँपालिकाबासीका आवश्यकता अनुसार कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने हिसाबले बजेट ल्याएको अध्यक्ष कुँवरले बताए ।
गाउँकार्यपालिकामा घनीभूत छलफलपछि शनिबार बजेट पारित भएको उनले बताए । आफूले अघि सारेका केही कार्यक्रम भने बजेटमा समावेश गर्न नपाएको अध्यक्ष कुँवरले गुनासो गरे । आफू अल्पमतमा रहेकाले सबै कार्यक्रम सोचे अनुसार ल्याउन नसकेको उनको भनाइ छ । सुर्नयामा उपाध्यक्ष सहित नेपाली कांग्रेसको बहुमत छ भने एमाले अध्यक्ष सहित दुई वडा जितेको छ ।




