बैतडी –नेपाल –भारत सीमा जोडिएको झुलाघाट नाकाको झोलुंगे पुल जीर्ण भएको छ । नेपाल –भारत जोड्ने पुरानो नाका झुलाघाटमा करीब डेढसय बर्ष अघि निर्माण गरिएको सो पुल जीर्ण बन्दै गएको हो ।
तत्कालिन इष्ट इण्डिया कम्पनीले निर्माण गरेको सो झोलुंगे पुल जीर्ण हुँदा सीमा नाकामा आवतजावतका लागि जोखिम बढ्दै गएको छ । झुलाघाट नाका भारत पस्ने पुरानो नाका भएपनि यो नाकामा मोटरेबल पुल नहुँदा समस्या हुँदै आएको छ ।
झुलाघाट नाकाको झोलुंगे पुल जीर्ण भएपछि केही दिन अघि मात्रै भारतका तर्फबाट पुलको मर्मत गरिएको छ । नेपाल र भारत दुवै देशका सुरक्षा अधिकारीहरुको बैठकले पुल मर्मत गर्ने सहमतिपछि पुल ममर्त गरिएको हो ।
सीमा नाकाको पुल जीर्ण हुँदा आवतजावतमा निकै समस्या हुने गरेको दशरथचन्द नगरपालिका १ गुरुखोला प्रयागराज भट्टले बताए । उनले भने ‘झुलाघाट पुल निकै जीर्ण भइसकेको छ । यसले गर्दा आवतजावतमा समस्या भएको छ ।’
झुलाघाट सम्म मोटर बाटो नपुगेका बेला पनि यो नाका भएर सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँका नागरिक रोजगारीका लागि भारत जाने गर्दथे । अहिले पनि यो नाका भएर सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक रोजगारीका लागि भारत पस्ने गरेका छन् ।
यो नाकामा पक्की पुल नहुँदा धेरै समस्या भएको छ । झुलाघाटमा पक्की पुल निमार्णका लागि बैतडी उद्योग वाणिज्य संघले १० हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाएको थियो । पुल निमार्णमा दबाब दिनका लागि २०७६ चैतमा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दको नेतृत्वमा २१ दिने रिले अनशन समेत भएको छ । अनशन तोडाउन नेताहरूले पुल बनाउने आश्वासन दिएर चुनावी नारा बनाए पनि अहिलेसम्म सुरसार नभएको उनले बताए ।
केहि समयअघि दार्चुलाको भारतसँग जोड्न महाकालीमाथि पक्की पुल बनाउने सरकारले निर्णय गरे पनि सुदूरपश्चिमकै पुरानो नाका झुलाघाटमा पुल बनाउन केही पहल नहुँदा राज्यले सधैँ हेपेको महसुस हुने गरेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए ।




